बागलुङ,१३ असाेज । बागलुङमा बाढी पहिरोमा परी १२ जनाले ज्यान गएको छ । एक जना अझै वेपत्ता भएका छन् ।
पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको बाढि पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु र एक जना अझै वेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको हो ।जसमध्य घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिनुभयो ।
पहिरोमा परी पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएको छ ।
यसअघि शनिबार पनि ताराखोलामै एक जनाको मृत्यु भएको थियो । बाढीपहिरोमा परी ताराखोलामा मात्रै मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
आइतबार बागलुङको तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक जना बेपत्ता र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको थियो ।







