बागलुङ, ४ असोज । बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । संविधान दिवसको अवसरमा बागलुङ कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको हो ।
१३औँ संविधान तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा कैदीबन्दीलाई लक्षित गरी नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिविर तथा स्क्रिनिङ क्याम्प सञ्चालन गरिएको हो । १३ औँ संविधान तथा राष्ट्रिय दिवस २०८३ मूल आयोजक समितिको आयोजना तथा धौलागिरी प्रादेशिक अस्पताल बागलुङको समन्वयमा कारागार परिसरमै स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य अवस्था जाँच गर्नुका साथै नसर्ने रोगको सम्भावित जोखिम पहिचान गर्ने उद्देश्य राखिएको थियो ।
कारागारमा रहेका कैदीबन्दीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य परीक्षण आयोजना गरिएको धौलागिरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले बताउनुभयो । स्वास्थ्य परीक्षणका क्रममा विशेषज्ञ सेवा आवश्यक देखिएका बिरामीलाई थप समन्वय गरी आवश्यक उपचार तथा विशेषज्ञ सेवा उपलब्ध गराइने उहाँको भनाइ छ ।
“कारागारमा रहेका व्यक्तिहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु आवश्यक छ। परीक्षणका क्रममा थप विशेषज्ञ सेवा आवश्यक देखिएमा अस्पतालसँग समन्वय गरी आवश्यक सेवा प्रदान गरिनेछ,” अध्यक्ष शर्माले भन्नुभयो ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य अवस्थाप्रति स्थानीय तहले पनि चासो दिनुपर्ने बताउनुभयो। स्वास्थ्य परीक्षणबाट रोगको पहिचान गरी समयमै उपचार गर्न सके कैदीबन्दीको स्वास्थ्यमा सुधार ल्याउन सकिने उहाँको भनाइ छ ।
“कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य अवस्था पनि राज्यको जिम्मेवारीभित्र पर्छ । रोगको पहिचान, रोकथाम र उपचारका लागि यस्ता स्वास्थ्य शिविर प्रभावकारी हुन्छन्,” उपप्रमुख खड्काले बताउनुभयो ।
कारागार जटिल प्रकृतिको क्षेत्र भएकाले त्यहाँ रहेका कैदीबन्दीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले विशेष ध्यान दिनुपर्ने भन्दै सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बताउनु भयो ।
विशेषगरी मानसिक स्वास्थ्य तथा छालासम्बन्धी समस्या देखिन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण र आवश्यक उपचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । कारागार प्रशासक सान्तना पाठकका अनुसार कारागारमा रहेका कुल १५६ जनामध्ये ९० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ७५ जना पुरुष र १५ जना महिला रहेका छन् । स्वास्थ्य परीक्षण गरिएको भए पनि परीक्षणको विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
बागलुङ कारागारमा हाल १३८ जना पुरुष र १६ जना महिला कैदीबन्दी रहेका छन् । त्यस्तै एक जना नाबालक र एक जना नाबालिका गरी कुल १५६ जना रहेको कारागार प्रशासक पाठकले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरमार्फत कैदीबन्दीको स्वास्थ्य अवस्था पहिचान गर्नुका साथै नसर्ने रोगको जोखिम, मानसिक तथा छालासम्बन्धी समस्या लगायतका स्वास्थ्य अवस्थाबारे प्रारम्भिक जानकारी लिइएको थियो । स्वास्थ्य परीक्षणबाट थप उपचार आवश्यक देखिएका कैदीबन्दीलाई आगामी दिनमा सम्बन्धित स्वास्थ्य संस्थासँग समन्वय गरी उपचारको व्यवस्था मिलाइने बताइएको छ ।
कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी भएकै कारण थप स्वास्थ्य समस्या उत्पन्न हुने गरेको प्रशासक पाठकको भनाई छ ।







