बागलुङ, ४ असाेज । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा डायलासिस सेवालाई थप विस्तार गरिएको छ । सेवा विस्तारसँगै मिर्गौला रोगका बिरामीले नियमित डायलासिस सेवा लिन थप सहज हुने भएको छ।
अस्पतालमा यसअघि ६१ जना सेवाग्राहीले नियमित रूपमा डायलासिस सेवा लिँदै आएका थिए। बिरामीको चाप र डायलासिस सेवाको आवश्यकतालाई मध्यनजर गर्दै अस्पतालले सेवा विस्तारको प्रक्रिया अघि बढाएको हो। सेवा विस्तारअन्तर्गत थप चारवटा डायलासिस मेसिन जडान गरिँदैछ। चारवटै मेसिन इन्स्टल भएपछि थप १० जना बिरामीलाई डायलासिस सेवा उपलब्ध गराउन सकिने अस्पतालवरिष्ठ नर्सिङ अधिकृत निमा हिताङले जानकारी दिनुभयो ।
डायलासिसका लागि नियमित रूपमा अस्पताल आउनुपर्ने बिरामीको संख्या बढ्दै गएपछि उपलब्ध स्रोतसाधनअनुसार सेवा विस्तार गरिएको अस्पतालले जनाएको छ। थप मेसिन सञ्चालनमा आएपछि हाल सेवा लिइरहेका बिरामीलाई सेवा व्यवस्थापन गर्न सहज हुनुका साथै नयाँ बिरामीलाई समेत डायलासिस सेवा उपलब्ध गराउन सकिने छ।
मिर्गौला रोगीका लागि डायलासिस नियमित रूपमा आवश्यक पर्ने उपचार सेवा भएकाले सेवा विस्तारलाई महत्वपूर्ण मानिएको छ। डायलासिसका लागि अन्य स्थानमा जानुपर्ने बाध्यता भएका बिरामीलाई समेत अस्पतालमै सेवा विस्तार भएपछि राहत पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी बागलुङसहित धौलागिरी क्षेत्रका बिरामीलाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउन यसले सहयोग पुग्ने छ ।







