बागलुङ, साउन २५ । बागलुङमा विपद् उद्धार सामग्री हस्तान्तरण गरिएको छ ।
उद्योग वाणिज्य संघ र गैरसरकारी संस्था महासंघ नेपाल, बागलुङ शाखाले जिल्ला विपद् व्यवस्थापन समितिलाई रु. ७ लाख ३१ हजार १ सय ९० बराबरका विपद् उद्धार सामग्री हस्तान्तरण गरिएको हो ।
सामाग्रि हस्तान्तरण कार्यक्रममा एक थान डुङ्गा, आठ थान आउटफिटर प्याडल, एक थान गाइड प्याडल, एक थान उद्धार डोरी झोला, आठ थान सुरक्षा हेल्मेट, आठ थान लाइफ ज्याकेट, एक थान बोट कभर तथा एक थान ह्यान्ड पम्प जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको गण्डकी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल, बागलुङका अध्यक्ष मुक्तिराम सापकोटाले जिल्लामा क्रियाशील विभिन्न संस्थाको सहयोग तथा बागलुङ उद्योग वाणिज्य संघसँगको सहकार्यमा उद्धार सामग्री उपलब्ध गराइएको बताउनुभयो। विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सामग्रीले सहयोग पुग्ने उहाँको विश्वास छ ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले विपद्का समयमा अत्यावश्यक पर्ने सामग्री सहयोगस्वरूप उपलब्ध गराएर महत्वपूर्ण कार्य गरेको भन्दै यस्ता सामग्रीले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सरकारी तथा गैरसरकारी संस्थाबीचको सहकार्यले विपद्का कारण हुने धनजनको क्षति न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
जिल्लामा उद्धारका लागि आवश्यक सामग्री पर्याप्त रूपमा उपलब्ध नभएकाले बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले प्राप्त सामग्रीले बाढी, पहिरो लगायत जलजन्य विपद्का घटनामा छिटो र प्रभावकारी उद्धार कार्य सञ्चालन गर्न सहज हुने बताउनुभयो। उद्धारकर्मीहरूको मनोबल उच्च राख्न पनि यस्ता सामग्री उपयोगी हुने उहाँको भनाइ थियो।
गैरसरकारी संस्था महासंघ नेपाल, बागलुङका अध्यक्ष मुक्तिराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा गण्डकी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियोभने कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका महासचिव इन्द्रमणि पौडेल (अर्जुन) को सञ्चालनमा सम्पन्न भएको थियो।







