कवि जनक कार्की
भालेको अलार्म भन्दा पहिले व्युझिएर
उनी पकाउँछिन् एउटा सिङ्गो सुर्य
पस्किन्छिन धरतीमा उज्यालो ।
उनी पकाउँछिन
– मुस्कान र खुसी
– आसा र साहस
– उर्जा र आत्मविश्वास
– करुणा र संवेदना
चुल्होमा बसेर पकाउँदा पकाउँदै
उनी दाउरासँगै जलाइदिन्छिन्
तीतो वचनको घाँउ
खानामा नून कम हुँदा थालको प्रहारबाट लागेको चोट
तेस्रो चोटि छोरी भएपछि सौता उपहार पाएको स्मृति
उनी पकाउँछिन
आकाशमा जूनतारा
पस्किन्छिन् रंगिन रात ।
उनले नपकाएको दिन अनर्थ हुनसक्छ
त्यस दिन उनी आफैँ दाइजोको नाममा मट्टीतेलसँग पाक्नुपर्छ
कसैको प्रेम प्रस्ताव नस्वीकारेको सजायमा पाक्नुपर्छ तेजाबसँगै
उनले विश्वास गरेको प्रेमीको धोकाको उपहारले पाक्नुपर्छ – इन्टरनेटको पोर्नसाइटमा
किशोरीको छातीकै कारण उनी पाक्नुपर्छ कामवासनाको आगोमा ।
एउटी नारी पकाउँछिन
पाक्छिन्
र झोस्दिन सक्छिन् अगुल्टोले !
र पराकाष्ठाले त्यो दिन अवश्य ल्याउन सक्छ
उनी तिमीलाई नै पकाइदिन सक्छिन !