तिमी र मैले सँगै रोपेको बर – पिपल
हुर्किएछ , बढेछ , ठूलो भएछ
सँधै सुनसान देखिने चौतारीमा
एक थान बुढो रुमाल सुत्दो रहेछ
रुमाल कै छातीमा टाँसिएर
एउटा रोगी औंठी निदाउँदो रहेछ
देब्रेतिर बाट बग्ने
भाटाको तिरतिरे धारामा
छुटेको केश बान्ने रातो रिबिन
अझै पनि धाराको गलामै बाँधिएको रहेछ
शिरिषको फेदैमा दलिएको नङ पालिस
रंगहिन भएर पनि रंगिन देखिंदो रहेछ
फुटेका केही थान चुराका झुर्काहरु
जस्ताको – त्यस्तै , जहाँको – त्यहीँ रहेछन्
कुण्डलबाट खुस्केको प्लास्टिकको एउटा पेच
अझै पनि मक्किएको रहेनछ
पाउजुबाट भाँचिएको एक थान कडी
कोल्टिएर जमिनमा
अझै पनि लडिरहेको रहेछ
घुँडाका झम्पलहरुले खनेका गहिरा डोबहरु
अझै पनि पुरिएका रहेनछन्
हाम्रो प्रेमिल युद्ध सँग पराजित भएका
दुँबोका लाखौं सिपाहीहरुको , समाधि बनेछ
जहाँ
आज पनि श्रद्धाञ्जलीका लागि
हरेक वसन्तमा शिरिषका फूलहरु बर्सिंदा रहेछन्
चौतारी सँगै उभिएको ढुङ्गामा
फूल चढाउन थालिएछ
दीप जलाउन थालिएछ
भेटी चढाउन थालिएछ
पूजा गर्न थालिएछ
मैले दिन नसकेको सिन्दुर
बडो श्रद्धाले चढाउन थालिएछ
मेरो नाउँ बाट तिमी छुटे पछि
तिम्रो ठाउँमा तिमीलाई भगवान मान्न थालिएछ
म भगवानलाई औधी प्रेम गर्छु।।
रोशन परियार
पाख्रीबास नगरपालिका
धनकुटा