बागलुङ, ५ मंसिर । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू जनतासँगै रहेर आगामी निर्वाचनमा सहभागी हुने बताएका छन् ।
नेपाली कांग्रेस बागलुङको १५औँ नियमित अधिवेशनको उद्घाटन गर्न बागलुङ आएका देउवाले जनतासँगै चुनावमा हुने विश्वास व्यक्त गरेका हुन् । उनले आफू जनताबाट टाढा नहुने बताउँदै आगामी राजनीतिक यात्रामा जनताकै साथमा रहने धारणा राखे ।
नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादबारे बोल्दै देउवाले अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे । सर्वोच्च अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै उनले न्यायाधीशहरू नबिक्ने विश्वाससमेत व्यक्त गरे ।
उनले पार्टीको वर्तमान अवस्थाबारे धारणा राख्दै आफूले यसअघि देशका लागि काम गरेको र अब पार्टीका लागि काम गर्ने बताए । पार्टी र जनतासँगै रहने प्रतिबद्धता व्यक्त गर्दै देउवाले आगामी दिनमा पनि जनतासँगको सम्बन्धलाई निरन्तरता दिने बताए ।







