बागलुङ, २० कात्तिक । बागलुङको जैमिनी नगरपालिका–२ दमेक सुन्तलाचौरका मात्रिका प्रसाद शर्माले पछिल्लो समय व्यावसायिक किबी खेतीमा अग्रसर हुनुभएको छ ।
अलैँची खेतीले लत्ताएपछि किबी खेतीमा अग्रसर मात्रिकाले जग्गा भाडामा लिएर किबी खेती सुरु गर्नुभएको हो ।
रोजगारीका सिलसिलामा दुई वर्ष मलेसिया बिताउनुभएका शर्मा अहिले गाउँमै व्यावसायिक रूपमा पाँच रोपनी क्षेत्रफलमा किबी खेती गर्दै गर्दा उत्पादन बढे पछि थप २० रोपनी क्षेत्रफलमा किबी खेती विस्तार गर्नुभएको हो ।
शर्माले गत वर्ष किबी बिक्रीबाट रु. चार लाख आम्दानी गरेको जानकारी दिनुभयो । यस वर्ष उत्पादन बढ्ने भएकाले आम्दानी दोब्बरले हुने लक्ष्य रहेको शर्माले बताउनुभयो ।
“पाँच रोपनीमा लगाएको किबीले उत्पादन दिन थालेपछि व्यावसायिक किबी खेती विस्तार गरेको हुँ, गत वर्ष रु. चार लाख आम्दानी भयो, यस वर्ष दोब्बर आम्दानी गर्ने लक्ष्य छ”, शर्माले भन्नुभयो, “आफ्नो भूगोल र हावापानी सुहाउँदो फलफूल खेती गर्दा सफल हुन सकिने रहेछ, अलैँचीमा असफल भए पनि किबीमा सफलता मिलेको छ ।” भन्दै खुसी व्यक्त गर्नुभयो
प्रदेश सरकारको रु. २० लाख अनुदानमा थप २० रोपनी आफ्नै बारीमा किबी खेती विस्तार गर्नुभएको छभने खेतीलाई अझ विस्तार गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।
“३० रोपनी जग्गामा अलैँची खेती गरेको थिएँ । मौसम अनुकूल नहुँदा सबै नष्ट भयो । अहिले किबी खेतीले गर्दा सफलता प्राप्त गरेको छु ”, उहाँले भन्नुभयो, ।
सुरुमा प्रतिगोटा रु ५०० मा बिरुवा खरिद गरेर किबी खेती थाल्नुभएका शर्माले आफ्नो क्षेत्रका अन्य किसानलाई पनि यस खेतीतर्फ आकर्षित गर्नुभएको छ । उहाँका अनुसार वडामा एक दर्जनभन्दा बढी किसान किबी खेतीमा आबद्ध छन् । यस क्षेत्रमा सबैभन्दा बढी क्षेत्रफलमा किबी खेती गर्ने किसान आफू नै रहेको दाबी गर्नुभयो ।
जैमिनी नगरपालिका–२ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटाले दमेक क्षेत्र किबी खेतीका लागि सम्भावनायुक्त रहेको बताउनुभयो । उहाँका अनुसार वडाले किसानलाई प्रोत्साहन गर्न ५०० किबीका बिरुवा अनुदानमा वितरण गरेको छ । दमेकको तल्लो क्षेत्रमा किबी खेतीको परीक्षण सफल भइसकेको उहाँले बताउनुभयो ।







