देशका विभिन्न सहरमा राज्यले जे ताण्डव मच्चायो र जुन तहको मानवीय क्षति भयो, त्यो अब भयानक कालो दिनका रूपमा नेपालको इतिहास भएको छ । राज्य कतिसम्म क्रूर, कतिसम्म विवेकहीन, कतिसम्म अमानवीय र कतिसम्म निकृष्ट हुन सक्छ, प्रधानमन्त्री केपी ओली र सत्तारूढ गठबन्धनका सहचालक शेरबहादुर देउवा नयाँ मानक रच्न सफल भएका छन् ।
जीवन अनुपम र अमूल्य छ । तर, यति ठूलो क्षति नेपालको कुनै पनि आन्दोलनमा भएको थिएन । चार जना युवाको सहादतमा एक सय चार वर्षको राणा शासन ढलेको हो । ३० वर्षे पञ्चायती कालरात्रिको अन्त गर्न २०४६ सालको परिवर्तनका लागि करिब दुई महिना आन्दोलन चल्दा १९ जना सहिद भएका थिए । त्यस्तै २४० वर्षको शाहवंशीय राजतन्त्रलाई २०६२ र ६३ मा बिदा गर्दा पनि २३ जनाले सहादत प्राप्त गरेका थिए । तर, २०८२ भदौ २३ मा एकै दिन कम्तीमा १९ जना युवाको बलिदानी भएको छ । जनताले आफ्ना प्रतिनिधिका रूपमा निर्वाचित गरेका ओली, देउवा, लेखक र गुरुङको अहंकार यति महँगो छ जसका लागि इतिहासमा सबैभन्दा धेरै युवाले बलिदानी दिनुपर्ने ? यो त अति भयो । अब तपाईँहरुलाई इतिहासले धिक्कार भनिसकेको छ ।
जेन–जीले भ्रष्टाचार र कुशासनमाथि प्रश्न उठाए । के यी प्रश्न गलत थिए ? जेन–जीले शासक र बिचौलियाको अपवित्र र अनुचित सम्बन्धमाथि प्रश्न उठाए । के गलत प्रश्न उठाए ? जेन–जीले नेताका परिवारको शाही ठाँट र जनताका छोराछोरीको दयनीय जीवनस्तरमाथि प्रश्न उठाए । के अनुचित प्रश्न उठाए ? सिंगो देशले स्वीकार गरिसकेका यी प्रश्नको जवाफ सरकारले केले दियो ? गोलीले ।
तपाईंहरूलाई सामन्ती बन्न त्यो ठाउँमा पठाएको हैन । त्यहाँ बसेर अब शासन गर्ने कुनै नैतिक अधिकार छैन । अबोधहरूको रगतले पोतिएको तपाईंहरूको अनुहार अब इतिहासका लागि शिक्षा होइन, कलंक हो । आफूलाई जनताको अदालतमा समर्पण गर्नुहोस् र नागरिक सरकारको बाटो खोल्नोस् । यो देशले ८४ साल कुर्न सक्दैन, अब जनताले कुर्न पनि हुँदैन । यो देश अब नरसंहारको अखडा बन्न सक्दैन् । अरू थप छोराछोरीको बलिका लागि कोहीपनि तयार छैनन् ।
अहिलसम्म १९ जना युवाको मृत्यु भएको पुष्टि भएको छ भने चार सयभन्दा बढी युवा विभिन्न अस्पतालमा छटपटाइरहेका छन् । आफन्तहरु छोराछोरी खोज्न विभिन्न अस्पतालमा धाइरहेका छन् । आखिर यस्तो चित्कार कहिलेसम्म सरकार ? युवालाई यो देशमा बाँच्न पाउने अधिकार छैन् र ? के युवा विदेश नै पलायन हुने हो र ?
जेनजीले राखेका मागको उचित सम्बोधन गर्नुस् । यो देश तपाईंहरूले बिर्तामा पाएको मात्र होइन, सबैको हो । यो शासन होइन, अपराध हो र अपराधीहरू अब सिंहासनमा बस्न हुँदैन, बस्न सक्दैनन्न् ।









