लक्ष्मण अर्याल
“एउटा वंश धान्ने नाति पाइदेऊ बुहारी अरू मलाई केही चाहिन्न ।” – सासूले भनिन् ।
बुहारीले भनी – “दुई दुई वटा तामाका मुनाजस्ता छोरी छन् आमा यिनीहरूमै नातिको मुहार देख्नुस् अब ।”
सासूले जिद्दी गरिन् – “त्यसो भनेर हुन्न । यिनीहरूलाई बिहेदान गरेर दिएपछि रित्तो भइन्छ । रित्तिएर त बाँच्न सकिन्न बाबै ।”
बुहारीले सासूलाई आस्वस्त पार्न भनी – “कहाँ रित्तो भइन्छ र ? यी दुई छोरी दिँदा ज्वाइँ पनि आउँछन् । आखिर ज्वाइँ भनेका पनि छोरा नै हुन् ।”
सासूले वंशवृक्षका कुरा गरिन् । वरत्रपरत्रका कुरा देखाइन् । जीवनका उकाली, ओराली अनि नागबेली बाटाहरूका चुनौती सम्झाइन् । ढिट बनिन् र बुहारीसँग आशा राखिन् ।
बुहारीले भनी – “आमा, हजुर कोइरालाकी छोरी, कोइरालाकै वंशवृक्षको पुस्तकमा किन अटाउनु भएन ? वंशवृक्ष रगतको नाताबाट तय हुने हो भने त्यहाँ त अटाउनुपर्ने ! त्यहाँ अधिकार थिएन हजुरको ?”
यसपटक सासू बोलिनन् ।
बुहारीले फेरि थपी – खनालकी बुहारी हजुरलाई के खनालहरूले कतै जोडेका छन् वंशावलीमा ? यदि वंशावली सम्बन्धका आधारमा तय हुनुपर्ने हो भने त्यो त हजुरको हक थियो । दुबैतिरको वंशावलीमा हजुरको उपस्थिति किन बनेन ?”
सासूको मौनता अझ प्रगाढ बन्यो ।
अन्तमा बुहारीले आफ्ना तर्फबाट निष्कर्षको हथौडा मारी – “आमा, यसपल्ट कतैको वंश नामको चिर्कटामा नअटाउने छोरीको पक्षमा मतदान गर्नुस् ।”