लामो समयपछि मङ्सिर ४ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन आउन अब २४ घण्टाभन्दा पनि कम समय बाँकी रहेको छ । निर्वाचनका निम्ति अब मतदातालाई शान्त रही सही निर्णयमा पुग्ने अनुकूल समय यही अवधि हो । राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसार बन्द गरिसकेका छन्। भने मौन अवधि पनि जारी रहेको छ । त्यसै गरी मतदाता मतदानका निम्ति व्यग्र प्रतीक्षामा रहेका छन्। । पाँच वर्षको अवधिमा एक पटक प्राप्त हुने यो अवसरलाई आममतदाताले विवेकसम्मत ढङ्गले प्रयोग गर्ने कुरामा अपेक्षा गर्न सकिन्छ । सबै राजनीतिक दल र उम्मेदवारहरूले आफ्ना प्रचार यसअघि नै सम्पन्न गरिसकेकाले मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गले मङ्सिर ४ गते पाँच वर्षको जनादेशका निम्ति सहि र विवेकपूर्ण फैसला गर्ने नै छन् भन्ने कुरामा विश्वस्त हुन सकिन्छ ।
निर्वाचनका निम्ति निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । देशव्यापी रूपमा एकै चरणमा सम्पन्न हुने यो महायज्ञरूपी निर्वाचन शान्तिपूर्ण, धाँधलीरहित, निष्पक्ष तथा पारदर्शी ढङ्गले सम्पन्न गर्न राज्यका सम्पूर्ण संयन्त्रले हरेक तरहले आफ्नो पूरै ध्यान केन्द्रित गरेको छन् । निजामती, शिक्षक, जङ्गी, प्रहरी, सशस्त्र तथा राष्ट्रिय अनुसन्धान हरेक तह र तप्काका राष्ट्रसेवक कर्मचारीहरु यो निर्वाचनलाई सफल र भयरहित बनाउन सक्रिय रुपमा कार्यक्षेत्रमा खटिएका छन्। ।
४ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र धाँधलीरहित तवरले सम्पन्न हुने वातावरण तयार गरिनु सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । अशान्त निर्वाचनले भय र त्रास बढाउने गर्दछ । मतदाताको स्वविकेक स्वतन्त्र रूपमा प्रतिविम्बित गर्ने अवसर सिर्जना गरिनु पदैछ । यसै पक्षलाई मनन गर्दै सरकारले आवश्यक सुरक्षा प्रबन्ध पनि गरिसकेको छ । सरकारले निर्वाचनलाई शान्तिपूर्ण बनाउने प्रत्याभूत गर्न राज्यका चारवटै सुरक्षा निकाय परिचालित छन्। । सुरक्षाका दृष्टिकोणबाट सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा वर्गीकरण गरेर सोहीअनुरूपको सुरक्षा व्यवस्था अपनाइएको छ । प्रभावकारी सुरक्षा व्यवस्थाकै कारण आममतदाताले बिना कुनै डर त्रास आफ्नो विवेकले मताधिकार गर्न सक्ने वातावरण सिर्जना हुनेमा कुनै शङ्का छैन ।
निर्वाचनका लागि खटिएका कर्मचारीहरू पनि आआफ्नो मतदान केन्द्रमा पुग्न थालिसकेका छन्। । मतदानका लागि आवश्यक सबै भौतिक पूर्वाधार तथा सामग्रीहरूको समेत प्रबन्ध भइसकेको छ । मतदान केन्द्रअन्तर्गतको बुथ निर्माण, मतपेटिका, मतपत्र र निर्वाचनसम्बन्धी अन्य आवश्यकीय सामग्री पुग्ने क्रम जारी रहेको छ । यसका अतिरिक्त सुरक्षा दृष्टिकोणले संवेदनशील र दुर्गम पहाडी तथा हिमाली भेकमा निर्वाचन सामाग्रीलाई हेलिकोप्टरका माध्यमबाट समेत ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । यसरी आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न हरेक तरहका तयारी पूर्ण रूपले गरिएको अवस्था रहेको छ ।
निर्वाचनको निष्पक्षतामा शङ्का गर्नुपर्ने कुनै स्थिति छैन । झन्डै एक करोड ८० लाख नेपाली मतदाताले प्रतिनिधि सभा र प्रदेश सभाका लागि आफ्नो प्रतिनिधि चुन्ने यस महान अवसरलाई सबै मतदाताले उत्सवका रूपमा लिनु आवश्यक रहेको छ । आममतदाताको एक मतले मुलुकको भाग्य र भविष्यको मार्ग प्रशस्त हुने हुँदा मतदाताहरूले आफ्नो बुद्धि, विवेक प्रयोग गरेर आगामी पाँच वर्षका लागि प्रतिनिधि चुन्ने यो अनुपम अवसर रहेको छ । यसबाट कोही पनि चुक्नु हुँदैन । आममतदाताको अत्यधिक सहभागिताले निर्वाचनको गरिमा र विश्वसनीयतामा सकारात्मक प्रभाव पार्नेछ । संविधान सभाले २०७२ मा निर्माण गरेको संविधानपछि यो दोस्रो आमनिर्वाचन भएकाले विगतका कमीकमजोरी सुधार गर्दै अगाडि बढ्नु आवश्यक छ ।
आफ्नो भोट योग्य उमेद्वारलाई सहि रुपमा प्रयोग गरौ । सभ्य नागरिकको परिचय दिऊ ।










