डम्मर बुढा मगर
बागलुङ, ७ असार । काठेखोला गाउँपालिका–६ बिहुँका बालानन्द कँडेल २२ वर्ष अगाडि बागलुङ बजार दुध बेच्न आउनुहुन्थ्यो । गाउँमा उत्पादन भएको दुध घण्टौँ लगाएर बजार ल्याउँदा विक्री नहुने र उचित मुल्य नपाउँदा निरास भएर फर्कनु हुन्थ्यो । तर अहिले कँडेलको मात्रै होइन सिंगो बिहुँ गाउँका कृषकले उत्पादन गरेको दुध विक्री हुन्छ । कृषकलाई उचित मूल्य पाउँदैनकी भन्ने पिर पनि छैन । जब २२ वर्ष अगाडि बागलुङ दुग्ध उत्पादक सहकारी संघ स्थापना भयो, त्यस यता कृषकले दुध विक्री नभएको गुनासोसमेत गर्नु परेको छैन् ।
वि.सं. २०५८ सालामा दुग्ध उत्पादनक सहकारी संघ स्थापनापछि बिहुँका कृषक मात्रै नभई काठेखोला, बागलुङ र जैमिनीका कृषकले उत्पादन गरेको दुधले बजार र मूल्य पाउन थाल्यो । अहिले धेरै कृषक दुध उत्पादनमा आकर्षित भएका छन् । सहकारी संघले गाउँ–गाउँदेखि कृषकले उत्पादन गरेको दुध संकलन गर्ने, बजारीकरण गरि उचित मूल्य दिन थालेपछि कृषकसमेत खुसी भएका छन् । पहिलेको जस्तो बाल्टी, ठेकी र गाग्रीमा दुध बोकेर बागलुङ बजार आउनु पर्ने धेरै कृषकको समस्या हटेको छ । अहिले गाउँ–गाउँमा स्थापना भएका दुग्ध सहकारीमार्फत बजारमा दुध आउँछ ।
दुधलाई आम्दानीको गतिलो स्रोत बनाएका कृषकका लागि गाउँमा रहेका दुग्ध सहकारी र बजारमा रहेको दुग्ध सहकारी संघ वरदान सावित बनेको छ । सहकारीले संघले कृषकको सारथी बनेको बालानन्द बताउनुहुन्छ । ०५८ साल अगाडि गाउँका कृषकले परिवारलाई पुग्ने मात्रै दुध उत्पादन गर्ने गरेको भन्दै अहिले धेरैले विक्रीका लागि उत्पादन गर्ने बताउनुहुन्छ । सहरकारी संघ स्थापना हुनु पूर्व धेरैले बजार नपाउँदा समस्या भोग्नु परेको भन्दै अहिले दुग्ध उत्पादन कुनै कृषकले चिन्ता गर्नु पर्ने स्थिती नरहेको कँडेलको भनाइ छ ।
‘मेरै ज्यान हो, बिहुँबाट दैनिक दुध बोकेर बागलुङ बजार पुगेको, गाउँबाट दुःख गरेर बजार लगेको दुध विक्री हुँदैनथ्यो, बजारभरी डुलाउनु पथ्र्यो, कसैले किनी हाले पनि पैसा दिन्थे, घ्यू अलिअलि विक्री हुन्थ्यो, मही पारेर काल्नामा फाल्नु पथ्र्यो’ कँडेलले भन्नुभयो‘अहिले गाउँमा दुग्ध सहकारी खोलेका छौँ, त्यही सहकारी मार्फत बजारमा रहेको दुग्ध सहकारी संघमा लगेर छोड्छौँ, महिना बितेपछि कृषकले दूधको मूल्य पाउँछन्, पहिलेको जस्तो बोकेर बजार जानु परेन, मूल्य नपाएर निरास हुनु पनि परेन, अहिले धेरै सजिलो भएको छ ।’
नमुना दुग्ध उत्पादक सहकारी संस्थाका कार्यवाहक अध्यक्षसमेत रहनु भएका कँडेलले दुध विक्री हुन थालेपछि धेरैको जीवनस्तरमा परिवर्तन आएको सुनाउनुभयो । यस सहकारीमार्फत दैनिक ३७० लिटर दुध सहकारी संघमा आउने गरेको भन्दै प्रत्येक महिना आठ लाखदेखि १० लाख रुपैयाँसम्म बिहुँमा भित्रिने उहाँको भनाइ छ । आफ्नो सहकारीमा गाउँका करिब २०० कृषक आबद्ध रहेकोमा अहिले ८० जना कृषकले उत्पादन गरेको दूध दैनिक बजारमा आउने गरेको छ ।
बागलुङ नगरपालिका–३ मुलपानीका रामबहादुर हमालको पनि पहिलेको अवस्था बालानन्दकै जस्तो थियो । तर अहिले फेरिएको छ । गाउँमा दुध उत्पादन गर्न मात्रै समस्या भएको तर बजारका लागि कुनै समस्या नभएको हमाल बताउनुहुन्छ । पहिले आर्थिक अवस्था कमजोर रहेका नागरिकले पनि अहिले दुध बेचेर गतिलो आम्दानी गर्न थालेको उहाँको भनाइ छ । स्थानीयको मुख्य आम्दानीको स्रोतनै दुध बन्दै गएको भन्दै गाउँमा भएका कृषकहरु दुग्ध उत्पादनमा लाग्न थालेको उहाँले बताउनुभयो ।
हमालले भन्नुहुन्छ – ‘पहिले थोरै कृषकले मात्रै दुध बजारमा पु¥याएर बेच्ने गर्थे, र पनि उतिबेला दुधले बजार पाउँदैनथ्यो, मूल्य पाउँदैनथ्यो, तर अहिले धेरै कृषकले दुध उत्पादन गर्छन्, विक्री नहुने समस्यानै छैन, गाउँबाट सहकारीले लैजान्छ, बजारमा सहकारी संघमार्फत उपभोक्तको घर–घरमा पु¥याउँछ, उपभोक्ताले घरमै दुध पाउँछन्, कृषकले उचित मूल्य पाउँछन् ।’
अहिले मुलपानी दुग्ध सहकारी संस्थामार्फत स्थानीय कृषकले उत्पादन गरेको दुध सहकारी संघमा ल्याइने गरेको उहाँको भनाइ छ । हाल ३० जना कृषकले दैनिक एक सय लिटर दूध बजारमा पठाउने गरेको हमालले बताउनुभयो । मासिक एक लाख बढी रकम गाउँमा पुग्ने उहाँ बताउनुहुन्छ ।
दुग्ध सहकारी संघले अहिले उपभोक्तालाई पनि सहज बनाएको छ । रहेक विहान सहकारी संघका कर्मचारीहरु बागलुङ बजारको चोक–चोक र गल्ली गल्लीमा दुध लिएर पुग्छन् । बागलुङमा दुध उत्पादकन, प्रशोेधन र बजारीकरणका क्षेत्रमा उल्लेख्य कार्य गर्दै आइरहेको दुग्ध उत्पादक संघमा हाल १४ वटा दुग्ध सहकारी संस्थाहरु आवद्ध रहेका छन् । अहिले दैनिक दुई हजार ५०० सय लिटर दुध विक्री वितरण भैरहेको संघका अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो । संघमा झण्डै एक हजार ५०० कृषक आवद्ध रहेको उहाँको भनाइ छ । सहकारी संघले अहिले काठेखोला गाउँपालिका, बागलुङ र जैमिनी नगरपालिकाका कृषकले उत्पादन गरेको दुध संकलन गर्ने गरेको अध्यक्ष गौतमले बताउनुभयो ।
संघले मासिक ६० देखि ८० लाखको कारोबार गर्ने गरेको छ । विक्री नभएको दुधबाट दहि, पनिर, छुर्पी लगायतका परिकार बनाइ विक्री वितरण गर्ने गरेको उहाँको भनाइ छ । हरेक महिना कृषकलाई दूधको उचित मूल्य दिने र वर्ष/वर्षमा सहकारीलाई मुनाफा वितरण गर्ने गौतमले बताउनुभयो । सुरुमा सात वटा दुग्ध सहकारीदेखि सुरु गरेको संघ अहिले फराकिलो बन्दै गएको उहाँ बताउनुहुन्छ ।
‘पहिले कृषकलाई धेरै समस्या थियो, दुःख गरेर दुध उत्पादन गर्नुहुन्थ्यो, बजारमा ल्याउनुहुन्थ्यो, दुःखमाथि दुःख थियो, हामीहरुले कृषकका समस्यालाई थोरै भए पनि समाधान गर्ने हेतुले बागलुङ दुग्ध उत्पादक सहकारी संघ स्थापना गरेका हौँ’ अध्यक्ष गौतमले भन्नुभयो,‘अहिले कृषक र उपभोक्तालाई सहज रुपमा जोड्ने पुलको काम गरेका छौँ, थोरै सहकारीहरुबाट सुरु भएको हाम्रो अभियान अहिले बढ्दै गएको छ, कृषकहरु थपिँदै जानु भएको छ, गुणस्तरीय दुध उपभोक्ता समक्ष पु¥याउने र कृषकलाई दुःख अनुसारको मूल्य दिने काम गरि रहेका छौँ, अहिले दुध बेचेर पनि धेरैले राम्रो आम्दानी गरि राख्नु भएको छ, धेरैको जीवनस्तर पनि बदलिइको पाएका छौँ ।’