भनिन्छ, शिक्षकहरू मैनबत्ती समान हुन । आफू बलेर अरूलाई उज्यालो दिन्छन ।शिक्षकले सिकाएका धेरै कुरालाई विद्यार्थीले जस्ताको त्यस्तै अनुसरण गर्ने हुँदा उनीहरूलाई पाठ्यपुस्तकभन्दा बाहिर गएर व्यक्तित्व विकास गराउने खालका कुरा सिकाउनुपर्छ ।
विद्यार्थीलाई पढाउनेबाहेक पनि शिक्षकका अन्य कैयौं जिम्मेवारी हुन्छन । साना कक्षाका कतिपय विद्यार्थी बढी चल्ने हुन्छन भने कतिपय शान्त स्वभावका हुन्छन । चकचके विद्यार्थीले अरू विद्यार्थीलाई हानि र्पुयाउँछ कि भनेर शिक्षक जहिल्यै चनाखो हुनुपर्छ । सबै विद्यार्थीको निरीक्षण गरिरहनुपर्छ । अभिभावकले आफ्ना सन्तानलाई साह्रै माया गरी हुर्काएका हुन्छन । आफ्ना सन्तानलाई विद्यालयमा होस या घरमा, चोटपटक लाग्दा उनीहरू दुःखी हुने गर्छन । यसकारण पनि शिक्षकले ससाना बालबालिकाको बढ्ता हेरचाह गर्नुपर्ने हुन्छ । विद्यार्थीहरूले केही भन्न आए धैर्य गरी तिनका कुरा सुनिदिनुपर्छ । उनीहरूका कुरा नसुनिदिँदा अप्रिय घटना पनि हुन सक्छ । घरपरिवारबाट माया नपाएको र शिक्षकले पनि आफूलाई नबुझेको भन्दै आत्महत्या गरेका उदाहरणहरु समाजमा प्रशस्त भेटिन्छन ।
उमेरसँगै शारीरिक परिवर्तन स्वाभाविक हुन्छ भनी सिकाउनुपर्छ । विद्यार्थीहरूले अभिभावकले सिकाउनेभन्दा पनि शिक्षकले भनेको कुरा बढी विश्वास गर्ने हुँदा, शिक्षकहरूमा जिम्मेवारी थपिन्छ । किशोरावस्थाका छात्राहरू जुनसुकै बेला पनि महिनावारी हुन सक्ने भएकाले कक्षाबीचमै बाहिर जान मिल्छ भनी जानकारी गराउनुपर्छ । कतिपय छात्रालाई महिनावारीको समयमा अत्यधिक पेट दुख्ने हुँदा कक्षामा दुखाइ सहेर अप्ठेरो गरी बस्नुको सट्टा तातो पानीसँगै आरामको व्यवस्था हुनुपर्छ । विद्यालयमा सजिलै प्याड उपलब्ध हुनुपर्छ । महिनावारी भइसकेपछि प्याड दिने मान्छे खोज्दाखोज्दै उनीहरूका लुगा बाहिरसम्मै फोहोर भइसकेको हुन्छ । विद्यालयमा फेर्ने लुगासमेत हुँदैनन । अभिभावकले पनि महिनावारी हुने समयमा झोलामा थप प्याडहरू राख्नुपर्छ भनेर सम्झाइरहनुपर्छ ।
विद्यालय छुट्टी भएपछि घर लिन आएको भन्दै नक्कली अभिभावक बनेर कतिपय मानिस विद्यालय आउने गर्छन् । सामान्य चिनजानको भरमा विद्यार्थीहरूसँग ‘म तिम्रो अभिभावक हो भन्नू है’ भन्दै लिएर जाने, अपहरण गर्ने, फिरौती माग्नेजस्ता घटना दोहोरिरहेका हुन्छन । किशोरावस्थामा पुगेका छात्राहरू काका, काकी, मामा, माइजू, दाइ, दिदी लिन आएको भन्दै बिरामी भएको निहुँ पारी विद्यालयबाट बेपत्ता हुनेसम्मका घटना भइरहेका हुन्छन । आमाबुबा वा अभिभावक चिनेर मात्रै सानो कक्षाका विद्यार्थीहरूलाई उनीहरूको जिम्मा लगाउनुपर्छ ।
मोबाइलको पहुँच बढेसँगै विद्यार्थीहरूले सदुपयोगभन्दा पनि दुरुपयोग गर्दै आइरहेका छन । कोभिड महामारीका कारण अनलाइन पढ्नुपर्ने बाध्यता आइलागेका कारण धेरैजसो विद्यार्थीले मोबाइलबाटै पढ्नुर्पयो । यसरी पढ्दापढ्दै उनीहरूलाई मोबाइलको लत लागेको पत्तै भएन । विद्यालयको भौतिक कक्षा सुचारु भए पनि धेरैजसो विद्यार्थीको मोबाइलको लत हटेको छैन । समूह बनाएर साथीहरूसँग ‘अनलाइन गेम’ खेलेर अभिभावकलाई हैरान बनाउन थालेका गुनासा आइरहेका छन ।
यसले विद्यार्थीको पढाइमा पनि धेरै असर गरिरहेको छ । विद्यालय जाने भन्दै घरबाट हिँडेका विद्यार्थीहरू मोबाइलबाटै योजना बनाएर अन्तै लागेको पनि भेटिन्छ । विद्यालयले विद्यार्थी नआएको खबर गरेपछि मात्र अभिभावकले आफ्ना बच्चाको कर्तुत थाहा पाउँछन् । पढ्ने बेला यत्तिकै समय नष्ट गरेर डुली हिँड्दा कुलतमा फस्ने सम्भावना पनि उत्तिकै हुन्छ । यस्तो हुन नदिन अभिभावक, विद्यार्थी तथा विद्यालयबीच लगातार समन्वय भइरहनुपर्छ । अभिभावकले पनि छोराछोरीको आनीबानीबारे विद्यालयलाई खबर गर्नुपर्छ । विद्यालयले पनि उसको व्यवहारबारे अभिभावकलाई खबर गरिरहनुपर्छ ।
अभिभावकलाई एउटा–दुइटा सन्तानलाई घरमा सम्हाल्न त मुस्किल हुने गर्छ, यस्तोमा शिक्षकलाई विभिन्न परिवेशबाट आएका करिब ४० विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउन कम चुनौतीपूर्ण हुन्न । कसैलाई माया गरेर पढाउनुपर्छ भने कोही धेरै माया गर्दा पढ्नै मन नगर्ने, दिएका गृहकार्य पनि नगर्ने खालका हुन्छन् ।
कसैले साथीलाई ‘बुलिङ’ गरिरहेका हुन्छन त कसैले डस्टर फुटाउने, भित्तामा कोर्ने, अपशब्द लेख्नेजस्ता क्रियाकलाप गरिरहेका हुन्छन् । यस्तोमा उनीहरूलाई बिग्रन दियौं भने सजिलै बिग्रन्छन्, सुध्रिने मौका दियौं भने राम्रा भएर निस्कन्छन् । कलिला विद्यार्थीहरू शिक्षक, अभिभावकले जस्तो बनाउन खोज्यो त्यस्तै बन्छन । त्यसमा पनि शिक्षकको भूमिका बढी हुन्छ । साना विद्यार्थी हुर्काउनु कला पनि हो र यो काम सहज छैन । यसका लागि शिक्षकले निकै मिहिनेत गर्नुपर्ने हुन्छ । नराम्रो काम गरे सजाय तथा राम्रो काम गरे मीठो फल पाइन्छ भनेर विद्यालयलाई बुझाइरहनुपर्छ । नराम्रो काम गर्न निरुत्साहित तथा राम्रो काम गर्न प्रोत्साहित गरिरहनुपर्छ ।
शिक्षकले सिकाएका धेरै कुरालाई विद्यार्थीहरूले जस्ताको त्यस्तै अनुसरण गर्ने हुँदा विद्यार्थीहरूलाई पाठ्यपुस्तकभन्दा बाहिर गएर उनीहरूको व्यक्तित्व विकास गराउने खालका कुराहरू सिकाउनुपर्छ, त्यसका लागि शिक्षकले पूर्वतयारी गर्नुपर्छ । विद्यालयले पनि शिक्षकको सुविधामा यथेष्ठ ध्यान दिनुपर्छ, ताकि शिक्षक जागिरबाट सन्तुष्टि हुन सकोस् ।